७ वैशाख, वासिङटन (अमेरिका) । नेपाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच परियोजना कार्यान्वयनलाई तीव्रता दिने तथा सुरुमा एमसीसीको अनुदान खर्च गर्ने सहमति भएको छ ।
अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँग एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले गरेको भेटघाटमा यस्तो सहमति भएको मन्त्री पुनले अनलाइनखबरलाई जानकारी दिए ।
एमसीसीको ५० करोड डलर अनुदानमा अहिले नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार परियोजना कार्यान्वयन भइरहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको प्रसारण लाइनको पहिलो चरणमा भएको टेन्डर रद्द भएर पुनः मूल्यांकनको क्रममा छ ।
प्रसारण लाइन परियोजनाका लागि ठेक्का प्रस्ताव गर्ने निर्माण कम्पनीहरूको न्यूनतम लागत प्रस्ताव नै बजेट अनुमानभन्दा ६० प्रतिशत महँगो भएको थियो । एमसीसीको खरिद नियमावलीमा नै अनुमानभन्दा अत्यधिक धेरै लागत प्रस्ताव आए ठेक्का प्रक्रिया पूर्ण रुपमा रद्द गरी नयाँ प्रक्रिया सुरु गर्ने व्यवस्था भएअनुरुप ठेक्का रद्द भएको थियो । स्रोत अनलाइन खबर